क)
सहस्रशीर्ष, सहस्रपाद !
झल्किरहेछ एक विराट् !
ख)
अल्प सहस्र संवत्सरले केवल, जिनतिन,
अल्पोच्चारित,
उसका इंगित
हामी सारा नेपाली हुँ !
हाम्रो देश छ हाल,
एक अनुच्चारित, कल्पनु
परको, लोक कमाल !
अदृष्ट विशाल !
नेपाल !
ग)
नागह्द्मा वनकणीमा,
मानिस जन्म्यो,
हरियो फूल !
संभावनाको क्षितिजद्वारमा,
प्रथम पर्वतको यो किनारमा !
माछो, कछुवा, वराह र वामन,
बन्दै दारमा !
सीँढी चढ्दो, बढ्दो अगाडि,
पूर्ण पछाडि, पुकारमा !
घ)
माटो फूल भो
ओठका लागि !
बास्नी खुल्न !
फूल, चरा भो,
उड्न र बाल्न !
पछि भो पंछी,
सुन्दरलाई,
पिउन, उछल्न !
मानिस हुन गो !
मुटु विराट्को
छाम्न, छिचोल्न !
ङ)
कोरा मानिस, हिउँको थुप्रो !
खाडी, वाढी !
मानव–पदार्थ सब माटो, हावा,
अग्नि अनादि !
च)
विकृत मानिस, सर्प, भ्यागुता,
गोही, डाँस !
घूँघा, गघा !
या सिस्नो, बाँस !
मानिस एउटा बनीरहेछ !
‘सोऽहं, सोऽहं !’ भनीरहेछ !
छ)
हामी तारा धूली धुलेका,
मन्देष्ण कणी,
ताराका हुँ हामी पनाति,
नेबुलाका हामी जनाति,
सूर्यका नाति,
पृथ्वीका छोरा !
चन्द्रका भाइ, बहिनी पनि !
आजको सब बीज त्यहाँ थियो
स्वर गङ्गामा !
पछिको पोषण सार यहाँ छ !
पृथिवीमा !
यहाँ विराट्को एउटै मुटुको
ढुकढुक चल्छ !
कोटी पादले कोही चल्छ ।
कोटी शीर्षले कोही टटोल्छ ।
कोही बोल्छ ।
ज)
बहिनी रेणु π दाज्यु हिमाल !
हामी उसका जीवकणी हुँ !
एउटै मानिस सबमा दुगुर्छ,
प्रति चेष्टाले उसका, हामी,
एक एकमा एक अनंत,
अखिल धनी हुँ !
झ)
मिरमिर मानिस माटोमा छ !
तिरमिर मानिस सूर्य किरणमा !
छिरविर मानिस बनमा त्यहाँ छ !
एउटा मानिस झल्किरहेछ,
सब वस्तुमा, सब जनमा !
ञ)
पूरा, अधूरा
मिरमिर π किरमिर !
एउटा मुटुको ढुकढुक, ढुकढुक !
एक कल्पना, छिरबिर, छिरबिर !
एक रुधिरको धावन, सिरसिर !
ट)
विश्वहरूको जोड गरीकन,
एउटा विश्व बन्यो !
विश्वहरूका राजा मिलीकन
एउटा राजा बन्यो !
ठ)
एउटा मानिस ढाक्दछ नेपाल !
थल, जल, आकाश !
निल्दछ देश र निल्दछ काल !
बन्छ विशाल !
विश्व जीवनीको गाना गाउँछ !
मीठो ठाँट !
मानिस विराट् !
(लक्ष्मी कविता संग्रहबाट)